काठमाडौं।
ब्याज निक्कै महँगिएपछि बैंकहरुले नै ऋणीको क्षमता पुग्दैन भनेर ऋण रोक्न थालेका छन्। वैशाखबाट अलिकति ब्याज घटेपछि ऋण दिने मुडमा बैंकहरु पुगेका छन्।पछिल्ला दिनहरुमा बैंकको ऋण बढ्नुको साटो उल्टो घट्न थालेको छ। ‘महँगो ब्याजमा कसरी व्यवसाय चल्ला र !’ भन्दै बैंकहरु नै ऋण दिन निरुत्साहित देखिएका हुन्।अहिले मुद्दतीको ब्याज दर ११ प्रतिशत छ। आधाभन्दा बढी निक्षेपको लागत १२ प्रतिशत बढी (पहिले नै मुद्दतीमा राखेको तर परिपक्व नभएको) छ। यस हिसाबले महँगो ब्याजमा ऋण लिएर गरेको व्यवसायले त्योभन्दा बढी प्रतिफल दिनुपर्ने हुन्छ। त्यो दिन सक्ने अवस्था अहिले नरहेको बैंकरको भनाइ छ।
यद्यपि सिमेन्ट उद्योगले भने बिस्तारै गति लिन थालेको छ। त्यस क्षेत्रको बिक्री बढेको रिपोर्ट बैंकहरुले पाउन थालेका छन्।
पोहोर निक्षेपको तुलनामा ऋण लगानी उच्च थियो। यसपाली निक्षेपको वृद्धिभन्दा आधा मात्र ऋण बढेको देखिन्छ। नेपाल राष्ट्र बैंकले ऋण वृद्धिको लक्ष्य १२.६ प्रतिशत राखेको छ। तर, ऋणको वृद्धि निकै न्यून छ। चालु आर्थिक वर्ष लागेयता नै ऋण वृद्धि छैन।
मंसिरसम्म जेनतेन गइरहेको ऋण त्यसयता घट्न थालेको बैंकरहरु बताउँछन्। ‘नयाँ दिने त परको कुरा भयो, पुरानै ऋण पनि घट्न थालेको छ,’ एक बैंकरले भने, ‘ऋण तिर्ने क्षमता घटिरहेको छ भने थप ऋण लगेर के गर्ने भन्ने त्रास पनि होला।’
बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) नै ८५ प्रतिशत हाराहारीमा आइसकेको छ। सीडी रेसियोका हिसाबले अहिले बैंकहरु करिब २२५ अर्ब रुपैयाँ ऋण दिन सक्ने क्षमतामा छन्। तैपनि बैंकहरुले दिइरहेका छैनन्।
बैंकरका हिसाबले अहिले नयाँ ऋण १४ प्रतिशतभन्दा तलको ब्याज दरमा दिन सकिने अवस्था छैन। वैशाखबाट ब्याजदर केही कम हुने छ। निक्षेपको लागत घटेर ब्याज तल आउने छ भने स्प्रेड दरका कारण पनि ब्याज तल आउने छ। यसबाहेक बैंकहरुले आधार दरपछि लिने प्रिमियम पनि ५ प्रतिशतमा झारेका छन्।