काठमाडौं । नेपालमा मोबाइल प्रयोगकर्ताको सङ्ख्या बढेसँगै आयातमा लगातार वृद्धि हुँदै गएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महीनाभित्रै ३४ लाखभन्दा बढी मोबाइल सेट भित्रिएका छन् । सो परिमाणको मोबाइल आयातका लागि देशबाट झण्डै साढे १२ अर्ब रुपैयाँ बाहिरिएको छ ।

गतवर्षको समीक्षा अवधिमा करीब १२ अर्ब रुपैयाँको ३१ लाख ७३ हजार ७ सय ६५ मोबाइल सेट भित्रिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समय नेपालमा मोबाइल प्रयोगकर्ता बढिरहेका छन् । ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थालेपछि विकट क्षेत्रमा पनि सेवाको उपयोग तीव्र रूपमा भइरहेको छ ।
सो अवधिमा नेपालमा दुई तिहाइभन्दा बढी मोबाइल चीनबाट आयात भएको देखिएको छ । २०७४ पुससम्म चीनबाट मात्रै ९ अर्ब २४ करोड रुपैयाँबराबरका २८ लाख ९७ हजार ३२ मोबाइल सेट आयात भएको छ । गत आवको सोही अवधिमा चीनबाट २७ लाख ४९ हजार ७ सय ७५ ओटा मोबाइल भित्रिएका थिए ।
मोबाइल व्यवसायी सङ्घका अध्यक्ष पुरुषोत्तम बस्नेत अधिकांश ब्राण्डेड मोबाइल चीनमा उत्पादन भएर संसारभरि विक्रीवितरण हुने बताउँछन् । त्यसले गर्दा एप्पल, सामसुङजस्ता अमेरिकी र कोरियन मोबाइल पनि चीनबाट आयात हुने गरेको उनको भनाइ छ । दोस्रोमा बढी मोबाइल आयात हुने देश भियतनाम हो । भियतनामबाट सो अवधिमा ३ लाख ३ हजार ३ सय ३९ मोबाइल सेट आयात भएको छ । त्यसमार्फत करीब साढे २ अर्ब रुपैयाँ नेपालबाट भियतनाम गएको तथ्याङ्कले देखाएको छ । आवको सोही अवधिमा भियतनामबाट २ लाख ९ हजार ५ सय २८ मोबाइल सेट आयात भएका थिए । त्यसैगरी तेस्रोमा भारतबाट २ लाख ७ हजार ४ सय ८८ मोबाइल सेट आयात भएको विभागको तथ्याङ्क छ ।
अधिकांश बहुराष्ट्रिय मोबाइल कम्पनीले चीन, भियतनाम र भारतजस्ता प्राविधिक श्रमशक्ति सस्तो भएका देशमा उत्पादन केन्द्र खालेको बस्नेत बताउँछन् । फलस्वरूप, ती देशबाट सबैभन्दा बढी मोबाइल सेट आयात हुने बताए । ‘चीनमा सबै किसिमका मोबाइल बन्ने र तुलनात्मक रूपमा सस्तो पनि भएकाले चाइनिज मोबाइल बढी आयात हुने गरेको छ,’ उनले भने ।
सबैभन्दा महँगा र ब्राण्डेड मोबाइल हङकङ, दुबई, थाइल्याण्ड, अमेरिका तथा यूरोपेली मुलुकबाट आउने भए पनि त्यस्तो आयातको तथ्याङ्क भन्सार विभागमा उपलब्ध छैन । विभागका प्रवक्ता शिव भण्डारीका अनुसार ती देशबाट आउने मोबाइल सेट रोजगारी तथा भ्रमणमा गएका व्यक्तिबाट आउने भएकाले विभागमा यसको तथ्याङ्क हुँदैन ।
दूरसञ्चार सेवा विस्तार र नयाँ प्रविधिको उपयोगको तीव्र चाहानाका बीचमा मोबाइल सेटको आयात बढ्नु सामान्य भएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्याल बताउँछन् । उनको भनाइमा नेपालमा मोबाइलसहितका दूरसञ्चार सेवामा अझै धेरैको पहुँच पुग्न बाँकी छ ।