काठमाडौं, मंसिर १ । सरकारले आर्थिक वर्ष २०७२/७३ मा राज्यलाई सबैभन्दा बढि राजश्व तिर्ने करदातालाई सम्मान गरेको छ ।

छैटौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले आइतबार राजधानीमा गरेको कार्यक्रममा मुख्यसचिव लोकदर्शन रेग्मीले उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।
आर्थिक वर्ष २०७२/७३ मा सबैभन्दा बढी कर तिर्ने करदातामा सूर्य नेपालका उपाध्यक्ष रवि केसी एवं निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता ‘भर्सेन्ड टेक्नोलोजिज्’ रहेका छन् ।
उद्योगमध्ये सबैभन्दा बढी कर तिर्नेमा हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगतर्फ राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, सहकारी संस्थातर्फ राष्ट्रिय सहकारी बैंक र बैंक तथा वित्तीय संस्था तथा लघु वित्ततर्फ सबैभन्दा बढि कर तिर्नेमा हिमालय बैंक रहेका छन् ।
यस्तै, बिमातर्फ नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ त्रियोग उच्च मावि, सूचना प्रविधि सेवातर्फ वर्ल्ड कम्युनिकेसन, पर्यटन व्यवसायतर्फ टाइगर टप्स, व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङले सबैभन्दा बढी कर तिरेका छन् ।
व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्शेर रहेका छन् ।
राष्ट्रिय कर दिवस पोखरामा पनि मनाइयो
यसैगरी, राष्ट्रिय कर दिवसको अवसरमा पोखरामा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यस क्षेत्रका उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान, करदाता शिक्षा, करको दायरा वढाउन जिल्ला उद्योग वाणिज्य संघहरुमा अन्र्तक्रियालगायतका कार्यक्रम गरिएको हो ।
गन्डकी र धौलागिरी अन्चलका १० जिल्लामा हाल १ लाख १७ हजार ९२९ करदाता रहेको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । कात्तिक मसान्तसम्म व्यक्तिगत स्थायी लेखा नम्वरका ४६ हजार, व्यवसायिक स्थायी लेखा नम्वरका ७१ हजार, अन्तः शुल्कतर्फ ६ हजार ६६९ र मुल्य अभिवृद्धि करमा दर्ता हुने १० हजार ८२३ जना करदाता रहेको प्रमुख कर अधिकृत केशव कुमार उप्रेतीले जानकारी दिए ।