रेमिट्यान्स आयको वृद्धिदरमा कमी

Everest Fuji News २०७४ कार्तिक १६ मा प्रकाशित       Published at 2017 Nov 02


रेमिट्यान्स आयको वृद्धिदरमा कमी आएको छ । पछिल्लो समय कामका लागि बिदेसिएका कामदारले पठाएको रकमको वृद्धिदर घट्न थालेको हो । कामका लागि विदेश जानेको संख्यामा आएको कमीका साथसाथै बिदेसिएकाको कमाइ अपेक्षाकृत रूपमा बढ्न नसक्दा र केही रकम विदेशबाटै पलायन हुँदा यस्तो समस्या देखिएको हो । नेपालको अर्थन्त्र रेमिट्यान्सको भरमा चलेको हुनाले यस्तो आय घटेमा यहाँ चौतर्फी रूपमा नकारात्मक प्रभाव पर्छ । यो प्रभावले देशको शोधनान्तर बचतमा समेत प्रभाव पर्न सक्छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको भदौ मसान्तसम्ममा रेमिट्यान्स आय शून्य दशमलव ७ प्रतिशतले बढी १ खर्ब १५ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६ दशमलव ६ प्रतिशतले बढेको थियो । यस अवधिमा खुद ट्रान्सफर आय शून्य दशमलव ४ प्रतिशतले वृद्धि भई १ खर्ब ३० अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ दशमलव ७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएकाले यस्तो प्रभाव देखिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । उनका अनुसार श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ७ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । यस अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ । तथ्यांकअनुसार अघिल्लो वर्षको पहिलो दुई महिनामा ११ अर्ब १२ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १७ अर्ब ८८ करोडले घाटामा रहेको छ । त्यसैगरी अघिल्लो वर्षको पहिलो दुई महिनामा ३ अर्ब ५० करोडले घाटामा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा ५ अर्ब ८७ करोडले घाटामा रहेको छ । सो तथ्यांकअनुसार भदौसम्ममा पुँजीगत ट्रान्सफर १ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह ५ अर्ब १० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब ५४ करोड र प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब १९ करोड रहेको थियो । २०७४ असार मसान्तमा १०७९ अर्ब ५२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ भदौ मसान्तमा १०७९ अर्ब ९७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ भदौ मसान्तमा शून्य दशमलव ४ प्रतिशतले कमी आई ९२३ अर्ब ९८ करोड पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा १५२ अर्ब २६ करोड रहेकोमा २०७४ भदौ मसान्तमा २ दशमलव ५ प्रतिशतले वृद्धि भई १ सय ५५ अर्ब ९९ करोड पुगेको छ । २०७४ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.