काठमाडौं- पर्शुराम अर्याल १२ वर्षअघिसम्म बैंकको जागिरे थिए। पढाइ सक्दा नसक्दै उनमा जागिर खाने सोच बनिसकेको थियो। चार वर्ष बैंकमा धाए पनि। तर भनेजस्तो तलबसुविधा नपाएपछि उनको निर्णय बदलियो। उनले आँट गरे- अरुको जागिर गर्ने होइन, आफैं नयाँ व्यवसाय थाल्छु।
यो २०६२ सालतिरको कुरा थियो। ३५ वर्षे अर्यालले त्यसपछि नै गाईपालन व्यवसाय सुरु गरे। १२ वर्षअघिको निर्णय सम्झँदा उनलाई कुनै पश्चात्ताप छैन।
'व्यावसायिक गाईपालन गर्ने परिवारमा म नै पहिलो हुँ,' नवलपरासी घर भएका उनले भने, 'किसानको छोरो भएकाले यो व्यवसाय गर्न मलाई कुनै लाज भएन।'
काठमाडौंको नैकापमा उनले गाईपालन व्यवसाय थालेका हुन्। सुरुवाती चरणमा ३० हजारमा एउटा गाई किनेका थिए। त्यसकै आम्दानीले अरु गाई थप्दै गए। अहिले उनीसँग पाँच वटा गाई छन्। उनका अनुसार दूध दिइराखेको एउटा गाईको मूल्य एक लाख रुपैयाँभन्दा बढी पर्छ।
'जागिरमा त तलब पाउन महिना दिन कुर्नुपर्थ्यो,' उनी ठट्यौली शैलीमा भन्छन्, 'यहाँ त दिनैपिच्छे पैसा खेलाउने लत भइसक्यो।'
बिहान-बेलुका गरी दैनिक ३२ लिटर दूध बिक्री गर्ने गरेका छन्। यो व्यवसायमा पत्नी सीताको पनि निकै साथ रहेको उनले बताए। 'हामी दुवै मिलेर सँगसँगै गाईको हेरचाह र सरसफाइमा जुट्ने गरेका छौं,' उनीसँग अब अरु कुनै लक्ष्य छैन, 'जीवनभर यही व्यवसायमा रमाउन पाए भयो।'
दूध बेचेरै उनका दुई छोरीको पढाइ खर्च मनग्गे पुगिरहेको छ। जम्मा चार जनाको परिवारलाई आर्थिक कुनै अभाव छैन अहिले। 'महिनामा २०/३० हजार नाफा आउँदो रहेछ,' उनले हिसाब गरे।
खानामा आफूले पालेको गाईकै शुद्ध दूधदही खान पाउँछन्। तरकारी किन्नुपर्दैन। किनकि गाईको मलले अर्गानिक तरकारी आफैंले फलाउँछन्।
एक रोपनी जग्गामा उनले आफ्नो व्यवसाय विस्तार गरिरहेका छन्। खाली जग्गा तरकारीले भरिभराउ छ।
तर काठमाडौँमा घाँस पाउन मुस्किल हुने गरेको समस्या उनीसँग छ। खाली जग्गा घरले भरिन थालिसके। तै बर्खाको समयमा चौरसम्म खुवाउन पाइन्छ त हिउँदमा त्यो पनि पाइन्न।
'हिउँदको बेला तराईबाट ढुटो र पराल मगाउने गरेको छु,' उनले खर्च सुनाए, 'दानापानीकै लागि महिनामा ३५ हजारजति खर्च हुन्छ।'
बिहान ५ बजेबाटै उनको दैनिकी सुरु हुन्छ। ७ बज्दा नबज्दै आफूलाई चाहिने दूध राखेर ग्राहकको घरघर पुर्याइसक्छन्। बेलुका ७ बजेसम्म उनलाई गोठमै भेट्न सकिन्छ।
गाई पालेर मात्र हुँदै। नियमित स्याहार नगरे विभिन्न रोगको संक्रमण हुने डर उत्तिकै रहन्छ। 'सफा गरिएन भने थुनेलो हुन्छ। गाई बिरामी पर्छन्,' उनले भने, 'घाँसपातमा पनि किरा हुन्छन् कि भनेर ख्याल गर्नुपर्ने हुन्छ।'
औषधोपचार नै महँगो हुने गरेको छ। बिरामी भएर थलिए भेटेरीनरीमा लैजान नसकिने भएकाले डाक्टरलाई घरमै बोलाउनुपर्ने बाध्यता रहेछ। 'त्यसैले पनि खर्च बढ्छ,' उनले भने।
गाईको बीमा गरेकाले अलि चिन्ता कम भएको छ उनलाई। किनकि गाई मरिहाल्यो भने उनले बीमाबाटै त्यसको क्षतिपूर्ति पाउँछन्।
कहिलेकाहीँ उनी गाई सट्टापट्टा पनि गर्दा रहेछन्। 'गाई बूढो भयो भने साट्नुपर्ने अवस्था आइलाग्छ,' उनले भने, 'अर्को ल्याएपछि पैसा थप्नैपर्यो। किन्न त निकै महँगो भइसक्यो।'
गाईपालनमै रमाएका उनलाई विदेश जाने रहर भने कहिल्यै पलाएन। पैसा कमाउनै भनेर विदेश गइराख्नु नपर्ने उनी बताउँछन्। 'यहाँ गाईको गोबर सोहोर्न लाज मान्नेहरु विदेशमा ट्वाइलेट सफा गर्न घिन मान्दैनन्। हामीले सुख मात्र खोज्नु हुँदैन। अलिकति दु:ख गर्ने हो भने नेपालमै चाहेजति कमाउन सकिन्छ,' उनले प्रेरणादायी कुरा गरे, 'समय, लगन, मेहनत भए परिवारसँगै बसेर राम्रो आम्दानी लिन सकिन्छ।'