काठमाडौं : आइएमई लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले बागलुङमा शाखा विस्तार गरेको छ । बुधबारदेखि सञ्चालनमा आएको उक्त शाखाको उद्घाटन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्ईंले गरेका थिए । उक्त अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीको सञ्चालक समितिका अध्यक्ष रामहरि अर्याललगायत पदाधिकारीको उपस्थिति थियो ।
कार्यक्रममा बिमा समितिका अध्यक्ष चापागार्ईंले भर्खरै स्थापित कम्पनीले जीवन बिमाको माध्यमबाट रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवालगायत लगानीकर्ताको हित तथा कर्मचारीको मनोवृतिमा ध्यान दिँदै कार्य गर्न सुझाव दिएका छन् । उक्त अवसरमा जीवन बिमा क्षेत्रको विकास र विस्तार गरी अग्रणी बिमा कम्पनीको रूपमा आइएमई लाइफ इन्सुरेन्स कम्पनीलाई स्थापित गर्न सफलता मिलोस् भनि शुभकामना व्यक्त गरे ।
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले उद्योगी, व्यवसायी, कृषक, सर्वसाधारण साथै आन्तरिक एवं बाह्य पर्यटनको साथसाथै मेचीदेखि महाकालीसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइएमई समूहले छिटो छरितो, भरपर्दो एवं विश्वसनीय सेवा प्रदान गर्ने उद्देश्यले आन्तरिक एवं बाह्य रेमिटेन्स सेवा, बैंकिङ, जीवन तथा निर्जीवन बिमा, पर्यटन प्रवद्र्धनका लागि केबलकार, अटोमोबाइल सेवा, जलविद्युत् उत्पादन जस्ता सेवा प्रदान गर्दै आएको जानकारी गराए । आफ्नो गृह जिल्लासमेत रहेको बागलुङमा आफ्नो समूहले सुरु गरेका सेवा प्रदान गर्न पाएकोमा अध्यक्ष ढकालले प्रशन्नता व्यक्त गरे ।