Everest Fuji News२०७४ आश्विन २० मा प्रकाशितPublished at 2017 Oct 06
बाबियाचौर (म्याग्दी) । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक विद्यालयको तह थप गर्न समुदायले रू. १ करोड जुटाएका छन् । मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको भीम माविको स्तरवृद्धि गर्ने उद्देश्यले सञ्चालित चन्दा सङ्कलन अभियानमार्फत सो रकम जुटेको हो । विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा डेढ वर्षसम्म सञ्चालित अभियानका क्रममा समुदायबाट रू. १ करोड जुटाइएको प्रअ डम्मरबहादुर घर्तीले जानकारी दिए ।
सो रकम खर्च कटाएर अक्षयकोष स्थापना गर्ने र त्यसको ब्याजबाट विद्यालयमा पुस्तकालय, कम्प्युटर कक्ष, विज्ञान प्रयोगशाला सञ्चालनका साथै दश जोड दुई तह र प्राविधिक विषयको कक्षा सञ्चालनमा परिचालन गर्ने लक्ष्य राखिएको अभियानका मूल संयोजकसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर पुनले बताए ।
‘देवीस्थानवासीको अग्रसरता, समुन्नत समाज र गुणस्तरीय शिक्षामा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालित अभियानमा रू. १० दश हजारभन्दा बढी सहयोग गर्नेको विद्यालय परिसरमा स्थापना गरिने शिलालेखमा नाम राखिने भएको छ । देवीस्थानका विद्यार्थी एसईई तह उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्न गाउँ छाडेर दरवाङ, ताकम, सदरमुकाम बेनी र जिल्लाबाहिर जाने गरेका छन् । रासस