२०७४-०६-९ टियाञ्चिन (चीन) । यूरोपेली विमान निर्माता कम्पनी एयरबस एसईले चीनमा ए ३३० जेट विमानका लागि ‘कम्प्लिशन प्लाण्ट’ खोलेको छ । तीव्र दरमा बढिरहेको चीनको हवाई बजारमा आफ्नो उपस्थिति बलियो बनाउने अपेक्षामा कम्पनीले उक्त प्लाण्ट खोलेको हो । यसले त्यहाँको बजारमा वाइड बडी जेटको माग बढाउने आशा गरिएको छ । कम्पनीले उत्तरी चीनको टियाञ्चिन शहरमा उक्त प्लाण्ट खोलेको हो । यो प्लाण्ट एभिएशन इण्डष्ट्री कर्पोरेशन अफ चाइना र टियाञ्चिन फ्री ट्रेड जोन इन्भेष्टमेण्ट कम्पनीको ज्वाइण्ट भेञ्चरमा खोलिएको हो ।
यस प्लाण्टमा एयरबसले ए ३३० जेट विमानको रङरोगन, क्याबिन जडानका साथै फ्रान्सको टुलोमा रहेको फाइनल एसेम्बली लाइनबाट प्राप्त विमानको परीक्षण उडान पनि गर्नेछ । एयरबसले यसअघि नै टियाञ्चिनमा न्यारो बडी ए ३२० जेटको फाइनल एसेम्बली प्लाण्ट खोलिसकेको छ । यसको सञ्चालन सन् २००८ मै शुरू भएको थियो । चीनमा आफ्नो उपस्थिति बलियो बनाउन कम्पनीले चिनियाँ विमान निर्माता कम्पनी कमर्शियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना लिमिटेडसँग पूर्वी चीनमा ७३७ जेटको फाइनल एसेम्बली प्लाण्ट पनि खोल्दै छ । एजेन्सी