३०औँ वार्षिकोत्सवको अवसरमा काठमाण्डौ महानगरपालिकाले १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगरमा मेयर बालेन्द्र शाह, उपमेयर सुनीता डङ्गोललगायतले १० जनालाई सम्मान गर्नुभएको हो ।समारोहमा महानगरका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै महानगरले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने बु्रमर, फोहर सङ्कलन गर्ने गाडीलगायत उपकरण प्रदर्शन गरिएको थियो । सम्मानित हुनेहरु लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कोठमाण्डौ महानगरका पूर्व मेयर पिएल सिंह र कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार हुनुहुन्छ । यस्तै साहित्य क्षेत्रबाट मल्ल के सुन्दर, खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित हुनुभएको महानगरले जनाएको छ ।सांगीगिक कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय ब्याण्ड, महेस काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमलगायत कलाकारले प्रस्तुति दिएका थिए।