प्रथम भूपि पुरस्कार सुधा त्रिपाठीलाई र काव्य पुरस्कार कवि तीर्थलाई

Everest Fuji News २०७५ पुष १० मा प्रकाशित       Published at 2018 Dec 25


प्रथम भूपि पुरस्कार सुधा त्रिपाठीलाई:

गलकोट । धवलागिरी साहित्य प्रतिष्ठान बागलुङले स्थापना गरेको भूपि पुरस्कार पहिलोपटक सुधा त्रिपाठीलाई प्रदान गरिएको छ ।

कवि भूपि शेरचनको ८४औँ जयन्तीका अवसरमा त्रिपाठीलाई भूपि पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले भूपिका कवितामा ‘ब्यङ्ग्यालङ्कार–चेतना’ अनुसन्धान कृतिका लेखक त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा त्रिपाठीलाई नगद रु १५ हजारसहित दोसल्ला र प्रशंसापत्र प्रदान गरिएको धवलागिरी साहित्य प्रतिष्ठान बागलुङका अध्यक्ष काजी रोशनले बताए।

कवि भूपिको साहित्य इतिहासलाई थप टेवा पु¥याएको भन्दै त्रिपाठीलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निर्वतमान कुलपति वरिष्ठ साहित्यकार सरुभक्तको प्रमुख आतिथ्यतामा उक्त पुरस्कार त्रिपाठीलाई प्रदान गरेका थिए।

पुरस्कार अक्षय कोषमा विशेष सहयोग पु¥याउनुहुने भूपिका धर्मपत्नी कान्ती शेरचनलाई धौलागिरी साहित्यक प्रतिष्ठानको तर्फबाट संरक्षक सदस्यको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

साहित्य क्षेत्रमा योगदान पु¥याएका विभिन्न साहित्य प्रेमीलाई समेत सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । साहित्यकार सरुभक्त, भूपि शेरचनका धर्मपत्नी कान्ती शेरचले लगायतले कवि भूपि शेरचनको ८४औँ जन्म जयन्तीका अवसरमा तस्बीरमा माल्यार्पण गरेका थिए ।

कवि भूपिका कृतिहरु परिवर्तन २०१०, नया“ झ्याउरे, घुम्ने मेचमाथि अन्धो मान्छे लगायतका थुप्रै चर्चित कृतिहरु प्रकाशित छन् ।

भूपि काव्य पुरस्कारबाट कवि तीर्थ सम्मानित:

 

 पोखरा । ८३ औं भूपि जयन्तीको अवसरमा कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । भूपि जयन्तीमा उनका परिवारजनद्वारा स्थापित भूपि काव्य पुरस्कारबाट मंगलबार कवि तीर्थ सम्मानित भएका हुन् ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले ५० हजार रुपैयाँ, ताम्रपत्र र दोसल्लासहित कवि तीर्थलाई काव्य पुरस्कार अर्पण गरे । नेपाली साहित्यको क्षेत्रमा विशेषत कविताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएकोमा कवि श्रेष्ठलाई सम्मान गरिएको हो ।

नेपालका एक होनाहार कविको नाममा स्थापित पुरस्कार अर्का मानक कविलाई सम्मान गर्न पाउँदा खुसी लागेको प्रदेश प्रमुख कुँवरले बताए । ‘भूपि नेपाली साहित्यका शक्तिशाली हुन् । उनका कवितामाजस्तो शक्ति अन्य कवितामा विरलै पाइन्छ,’ प्रमुख कुवँरले भने, ‘बहुआयामिक प्रतिभाका धनी तीर्थलाई यो सम्मानले प्रदान गर्नु पुरस्कार आफैं पुरस्कृत भएको छ ।’

यस्ता प्रतिभाशाली व्यक्तिलाई पाउनु गण्डकी प्रदेशको अर्को परिचय भएको उनको भनाइ थियो । सम्मान लिएपछि कवि तीर्थले भूपिसँगका स्मृति सम्झिए । कवि तीर्थले भूपिका विभिन्न किस्सा सुनाउँदै सधैं बाँचिरहने कविका रुपमा उनलाई सम्झिए ।

भूपिका कविताको शक्तिले नेपाली साहित्य सिञ्चित भएको बताउँदै कवि तीर्थले भने, ‘सानै उमेरमा आमा गुमाएरका भूपिले समाजका विभिन्न आयामलाई कवितामार्फत चुमेका छन् ।’ २०१६ सालमा पोखरामा जन्मेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा क्रियाशील श्रेष्ठले भूपि शेरचनसँग संगत पनि गरेका थिए ।

वरिष्ठ कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनले कवि तीर्थले नेपाली कवितामा एउटा बिस्फोट गराएको बताए । समाजका हरेक क्षेत्रमा क्रियाशील रहेर पनि कवि तीर्थले कविताको उचाईं कसरी चुम्छन् भन्ने जिज्ञासा आफूमा उब्जिने गरेको वात्स्यायनको भनाइ थियो ।

थकाली सेवा समितिले प्रत्येक २ वर्षमा भूपि जयन्तीका अवसरमा यो काव्य पुरस्कार अर्पण गर्दै आएको छ । समितिका अध्यक्ष शिवशंकर गौचनले नेपाली साहित्यका महान कविको जन्म जयन्तीमा अर्का प्रतिभाशाली कविलाई पुरस्कार अर्पण गर्न पाउँदा आयोजक गौरवान्वित भएको बताए ।

गौचनको अध्यक्षतामा भएको पुरस्कार अर्पण समारोहमा थकाली सेवा समितिका सचिव इन्जिनियर रुजिन्द्र तुलाचनले स्वागत गर्दै भूपिका कविता र उनको जीवनबारे धारणा राखे ।

थकाली सेवा समिति अध्यक्ष शिवशंकरको संयोकत्वमा कार्टुनिस्ट दुर्गा बराल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त, समितिका सचिव रुजिन्द्र र पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवाली सदस्य रहेको प्रतिभा छनोट समितिले श्रेष्ठलाई यसपालिको पुरस्कार अर्पण गर्ने निर्णय गरेको थियो ।

भूपि जयन्तीको अवसरमा भएको पुरस्कार अर्पण समारोहमा भूपिका ५ कविता र उनको गीतसमेत प्रस्तुत भयो । कवि प्रकाश घिमिरे, रीता अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली र बालिका अभिलासीले भूपिका कविता सुनाएका थिए । गायक विनोद कवियाले भूपिको गीतमार्फत उनलाई सम्झिए भने सम्मानित कवि तीर्थको गीत पनि प्रस्तुत गरे । पत्रकार अमृत सुवेदीले सञ्चालन गरेको कार्यक्रममा भूपि पत्नी ओमकुमारीले पनि भूपिको सम्झना गरिन् ।

कवि तीर्थका तीर्थ श्रेष्ठका कविताहरु, जिन्दगीको कुरुक्षेत्रबाट महाभारतका गीतहरु मुक्तक संग्रह र मेरै हिमालजस्तो गीत संग्रह प्रकाशित छन् ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.