अनेसास जापानको आयोजनामा लक्ष्मी जयन्तीको अवसरमा वाचन गरिएको कवियत्री सरिता ढकालको कविता
Everest Fuji News२०७५ मंसिर ४ मा प्रकाशितPublished at 2018 Nov 20
मान्छे हुनुको अर्थ
–सरिता ढकाल
हाल, जापान ।
तपाईं,
सिंगापुर र स्वीट्जरल्याण्डको
सपना देखाउने
विश्व सामीप्यताको परिधिमा जोडिदा
हीनता–दूरताको भारी बोकाउने
रोजी–रोटीको लागि
वैशालु पाखुराहरु मुग्लान खेदाउने
रङहरुको होलीभन्दा
रगतको होली खेल्ने
कुन आदिम युगको बिचार लिएर
साम्यवादी सपना देखाउनु हुन्छ ?
खुल्ला आकाशमुनि
निर्दोष अनुहारहरु
दिनहुँ अभावको घाउ निचोर्छन्
तपाईं,
अजयमान सुरक्षा घेरा
आलिसान महलभित्र बसेर
कुन सर्वहाराको लागि
वर्ग सङ्घर्ष गर्नुहुन्छ?
सज्जनहरु भेडा बनाएर
शिक्षितहरुले सिंगापुर चलाएको देखेर
भाषणमै देश
सँधै कसरी सिंगापुर बनाउनुहुन्छ ?
आफ्नो घरको मान्छे
नागरिकता बिहिन छन!
सिमाना पारीका मान्छेलाई
नागरिकता दिलाउने
सत्ता र शक्तिको आँडमा जनतालाई
मुसा र बिरालो कथाको पात्र बनाउने–तपाईं ?
एकपटक,
खुल्ला मैदानमा पछारिएर चित्ताको
आफुलाई फुलको पत्रैपत्र खाज्नू
अनि सोध्नू
डोली चड्न नपर्ने जस्तो गरेर
मुसु–मुसु मुस्कुराउने धुवाँको मुस्लोलाई
स्लेष्मान्तक जङ्गल वरिपरी
दिनभरी केही सोचेर हेर्नुहोस्–धुवाँजस्तै ।
जब, ति बेगमा जलिरहेका
फूुलको डोली र बडेमानको
धुवाको मुस्लो हेर्नुहोस्
तब, तपाईं हुनुको रहश्य बुझ्नु हुनेछ
र, बुझ्नु हुनेछ
इमानदारिताको आत्मा
सर्वहाराको सपना
अनि,
मान्छे हुनुको अर्थ !