काठमाडौं/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध मुद्दा दायर गरेको छ ।
पुर्वमुख्यमन्त्री सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय ८५ लाख ५१ हजार ३३४ बराबरको स्रोत नदेखिएकोले उनीमाथी अकुत सम्पती आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । सो अवधिमा सोडारीले एक करोड ९३ लाख ८९ हार ६३६ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ । सोडारीले वैध आय र खर्चको बीचमा तालमेल नमिलेको, एक करोड ८ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी रहेको छ । सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको छ । सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातमा राखेको समेत भेटिएको अख्तियारले जनाएको छ ।।