काठमाडौं । पूर्वराजावादी समूहले काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन अराजक हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको छ ।
तीनकुनेमा पूर्वराजाका समर्थकहरूले शान्तिपूर्ण प्रदर्शनको पूर्वअनुमति लिएका थिए। तर, निषेधित क्षेत्रसमेत तोड्दै प्रदर्शनकारीहरूले निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत सवारी साधनमाथि तोडफोड गरेपछि अवस्था तनावपूर्ण बनेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको विवरणअनुसार घटनामा नेपाल प्रहरीका ५३ जना र सशस्त्र प्रहरी बलका २२ जना घाइते भएका छन्। यस्तै, प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन्। कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ भने तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेका छन्।
प्रदर्शनका क्रममा निजी र सरकारी गरेर १५ सवारी साधनमा आगजनी भएको छ। नौ वटा सरकारी सवारी साधन र छ वटा निजी वा नखुलेका सवारी साधनमा आगजनी भएको प्रहरीले जनाएको छ। विभिन्न १४ स्थानमा आगजनी हुँदा १४ ठाउँका भौतिक संरचना ध्वस्त भएका छन् भने नौ वटा संस्थामा तोडफोड र १० ठाउँमा लुटपाट भएको पनि जानकारी दिइएको छ।
आन्दोलन अराजक बनेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो ४ बजेपछि कर्फ्यू आदेश जारी गरेको थियो। कर्फ्यू अवधि शनिबार बिहान ७ बजेसम्म तोकिएको छ। नेपाली सेना बख्तरबन्द गाडीसहित सडकमा परिचालन भएपछि स्थिति सामान्य बन्दै गएको प्रशासनले जनाएको छ।
प्रहरी प्रशासनले शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै, नागरिकहरूलाई संयमित रहन र प्रशासनको निर्देशन पालन गर्न आग्रह गरिएको छ।