मोरङ/
प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मोरङको गोठगाउँमा आयोजित पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्नेक्रममा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । पूर्वाञ्चल विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने समेत बताउनु भएको छ । उहाँले विश्वविद्यालयले प्रविधिसँग जोडिएको, अनुसन्धानमुखी तथा रोजगारमूलक शिक्षालाई प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । विश्वविद्यालयले अगाडि सारेको शैक्षिक सुधार अभियान, भौतिक पूर्वाधारकोे सरकारको सहयोग रहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ । पूर्वाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न सरकारको पूर्ण साथ रहने समेत प्रधानमन्त्री ओलीको भनाई रहेको छ । उहाँले दीक्षित विद्यार्थीहरूले आफ्नो सीप, ज्ञान र दक्षता प्रयोग गरी मुलुकको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभएको छ ।।