कपिलवस्तुमा दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले लागुऔषध मुद्दा र ठगी मुद्दामा फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरेको हो । शिवराज नगरपालिका–९ रमुबादह बस्ने रनबहादुर बुढा मगर र यशोधरा गाउँपालिका बस्ने परमपति कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । रन बहादुर बुढा मगरलाई लागु औषध मुद्दामा २०८० पुस २५ गते कपिलवस्तु जिल्ला अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यसयता फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनी कारागार चलान भइसकेका छन् । अर्का प्रतिवादी परमपति कुर्मीलाई ठगी मुद्दामा २०८० चैत २६ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार जरिवाना तोकेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी अदालतमा पेश गरेको हो । उनी पनि कारागार चलान भएका छन् ।।