काठमाडौं, जेठ ९ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
आर्मीले पूर्वाञ्चललाई ९ विकेटले पराजित गरेको हो । खेलमा टस जितेको आर्मीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गर्न मैदान उत्रिएको पूर्वाञ्चलले ३२ दशमलव ३ ओरमा अलआउट हुँदै मात्र १०३ रन जोड्न सक्यो ।
पूर्वाञ्चलका लागि मेहबुब आलमले ३६, विधान गोश्वामीले १९ तथा अंकित सुवेदीले १२ रन जोड्नुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
पूर्वाञ्चललाइ सस्तैमा समेट्न आर्मीका सागर पुनले ५ विकेट लिँदा सुशन भारीले ३ तथा सोमपाल कामीले २ विकेट लिए ।
जवाफमा १०४ रनको झिनो लक्ष्य आर्मीले १८ दशमलव ४ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीलाइ जिताउन अनिल मण्डल र सागर पुनले अविजित शतकीय साझेदारी गरे । आफ्नो इनिङको पहिलो बलमै महेश क्षत्रीलाई गुमाएको आर्मीका लागि अनिलले ५६ तथा सागर पुनले ४० रन जोडे ।
‘लिग कम नकआउट’को आधारमा हुने पहिलो संस्करणको प्रधानमन्त्री कपमा पाँचओटा क्षेत्रीय टिमसहित विभागीय टोलीहरु आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रत्येक समूह विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् ।
प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०/५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।
नेपालमा करिब तीन वर्षपछि पहिलोपटक एक दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
यो प्रतियोगितालाई राखेपले विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङसँगको आसन्न खेलको छनोट र तयारीको रुपमासमेत लिएको छ ।