लेबनानको हिजबुल्लाह समूहले इजरायलमा मिसाइल प्रहार गरेको छ ।
आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन हिजबुल्लाहले आइतबार उत्तरी इजरायलमा रकेट र ड्रोन आक्रमण गरेको हो । इजरालयले धेरै ठूलो आक्रमणलाई विफल पारेको बताएको बीबीसीले जनाएको छ । हिजबुल्लाह समूहले इजरायलमा आक्रमण गर्नुअघि इजरायली सेनाले पनि दक्षिणी लेबनानमा रहेका ४० भन्दा धेरै हिजबुल्लाह प्रक्षेपण साइटहरूमा प्रहार गरेको जनाएको छ । अमेरिकी र इजरायली जासुसी संस्थाहरूले आज इजरायलमा आक्रमण हुने थाहा पाएपछि इजरायलले हिजबुल्लाहभन्दा अघि नै झन्डै एक सय लडाकु विमानबाट प्रहार गरेको बताएको बीबीसीले जनाएको छ । हिजबुल्लाहले इजरायलतर्फ ड्रोन र तीन सय २० वटाभन्दा धेरै रकेट प्रक्षेपण गरेको र ११ सैन्य क्षेत्रमा प्रहार गरेको इजरायली सेनालाई उल्लेख गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । हिज्बुल्लाहले इजरायलले आफूतर्फ गरेको आक्रमण उल्लेख नगरी आफ्ना वरिष्ठ कमाण्डर फुआद शुक्रको हत्याको बदलाको पहिलो चरण पूरा भएको जनाएको छ । इजराइलले हिजबुल्लाहसँगको आजको भिडन्तका कारण ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । गएको महिना इजरायलको कब्जामा रहेको गोलान हाइट्समा हिजबुल्लाहले क्षेप्यास्त्र आक्रमण गरेर १२ जना बालकको ज्यान गएपछि इजरायली सेनाले बेरुतमा शुक्रको हत्या गरेको थियो । त्यसपछि दुई पक्षबीचको तनाव बढ्ने अपेक्षा बढेको थियो ।।