काठमाडौं। सामान्य रुघाखोकी लागेको भनिएका एक बालकको अस्पतालमा मृत्यु भएपछि आफन्तले लापरबाहीको आरोप लगाउँदै धर्ना दिएका छन् । राजधानीको नर्भिक अस्पतालमा उपचारको क्रममा १६ महिने बच्चाको मृत्यु भएको हो । बालकका पिता आफैं फिजिसियन डाक्टर हुन् । आफन्तको विरोधले तनाव बढेपछि प्रहरी परिचालन गरिएको थियो ।
मंगलबार बिहान रुघाखोकी र ज्वरो आएका बालक भिक्टोरिया आचार्यलाई अस्पताल भर्ना गरिएको थियो । डाक्टरको लापरवाहीका कारण बालकको मृत्यु भएको आफन्तको आरोप छ । तर, अस्पतालले भने बालकलाई पहिल्यै सिकिस्त अवस्थामा ल्याइएकोले बचाउन नसकेको बताएको छ । बच्चा बिरामी भएर तीन दिनअघि शिशु क्लिनिक दरबारमार्गमा उपचार गरिएको थियो। त्यहाँको औषाधिले काम नगरेपछि इमर्जेन्सीमा मंगलबार बिहान भर्ना गरिएको थियो। अस्पतालले यहाँ उपचार नहुने भएपछि एम्बुलेन्समै भेन्टिलेटर राखेर कान्ति रिफर गर्न खोज्दा बालकको मृत्यु भएको दावी गरेको छ ।