पाँचथरस्थित भेटरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कम्पाउन्ड पर्खाल भत्किएको छ ।
तीन वर्षअघि निर्माण गरिएको पर्खाल मंगलबार बिहान तीन बजे भत्किएको हो ।
पर्खाल निर्माणलगत्तै नयाँ माटो थुपारी स्काभेटर लगाएर सम्याउँदा त्यसको भार थाम्न नसकेपछि जमिन लच्किएको थियो ।
अविरल वर्षासँगै पर्खाल थप जोखिममा परेपछि स्थानीयले हटाउन माग गरेका थिए । पर्खाल ढल्ने अवस्था रहेको भन्दै जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि समेतको रोहवरमा मुचुल्का खडा गरे पनि बजेट अभावले अहिलेसम्म हटाइएको थिएन ।
यसैबीच कार्यालय भवन अगाडिपट्टिका ८ वटा पिल्लरसहितको पर्खाल भत्किएको कार्यालय प्रमुख मनोज महतोले बताए ।