Everest Fuji News२०७३ चैत्र १८ मा प्रकाशितPublished at 2017 Mar 31
काठमाडौं । आगामी आर्थिक वर्षसम्म राष्ट्रिय प्रसारणमा २४६ मेगावाट विजुली थप हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार विभिन्न आयोजना सम्पन्न भएर यो आर्थिक वर्षमा १०५ मेगावाट विजुली प्रसारणलाइनमा कनेक्ट भइसकेको छ ।
यसैवर्ष थप ४५ मेगावाट विजुली प्रशारणलाइनमा जोडिने अवस्था रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
असारसम्म थप ४५ मेगावाट विजुली प्रसारणलाइनमा जोडिएपछि यो आर्थिक वर्षमा मात्रै १५० मेगावाट विजुली नेशनल ग्रीडमा जोडिने उनले बताए । आगामी आर्थिक वर्ष २०७४/७५ मा २०१ मेगावाट विजुली निजी क्षेत्रले राष्ट्रिय प्रशारणलाइनमा जोड्नेछन् ।
यसरी आगामी आर्थिक वर्षभित्र प्राधिकरणले थप २४६ मेगावाट विजुली प्रशारणलाइनमा प्राप्त गर्ने सुनिश्चित जस्तै छ ।
अर्को वर्ष प्राधिकरणले आफ्ना चमेलिया र कुलेखानी गरेर ४५ मेगावाट विजुली थप्नेछ । प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया अर्को वर्ष सम्पन्न हुनेमा आशंका छैन ।
१४ मेगावाटको कुलेखानी तेस्रो आयोजनामा आएका समस्याहरु समाधान गर्न प्राधिकरणको नेतृत्व लागेको छ । यसैका कारण यी दुई आयोजना आगामी वर्ष सम्पन्न भएर प्रसारणलाइनमा जोडिने अवस्था छ ।
निजी लगानी बनिरहेका साना/ठूला आयोजनाले पनि अहिले गति लिएका छन् । निर्माणाधीन आयोजनाहरुलाई ट्रान्समिसनमा जोड्न प्राधिकरणले पनि प्रभावकारी ढंगले पहल गरेपछि कामको गति बढेको छ ।