काठमाडौं/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका ४ जना कर्मचारीविरुद्ध कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीमा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध गलत लिखत बनाई सरकारी कागजात कीर्ते गरी भ्रष्टचार गरेको अभियोगमा शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाइएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीमा ०१–०८–००८३६६८७ सभ्यता केसीको मा बी एड हुनु पर्नेमा ०१–०८–०१०३१२६२ अर्कैको नामलाई परिवर्तन गरेर रकम लिई लाइसेन्स दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ । रुपन्देही यातायातका तत्कालीन कम्प्युटर अपरेटर पराजुली र यातायात तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीबाट २०७८ साल चैत ७ गते जारी भएको अरु नै आवेदकको आइडी ८४०१६८५ मा जारी भएको क्याटेगोरी बी– कार, जीप डेलिभरी भ्यानको सवारी चालक अनुमपतिपत्रको विवरण परिवर्तन गरी ट्रायल परीक्षामा सहभागी नै नभएका सभ्यता केसीलाई लाइसेन्स दिएको भेटिएको मुद्दामा उल्लेख गरेको छ । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गरिएको अख्तियारले जनाएको छ ।।