स्थानीय तहको रिक्त ४१ पदका लागि गत आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको उपनिर्वाचनमा तीन स्थानमा निर्विरोध निर्वाचित भएपछि बाँकी ४१ सिटका लागि गत आइतबार भएको मतदानमा ४४ स्थानमध्ये नेपाली कांग्रेसले १९ स्थानमा विजय हासिल गरेको छ । दोस्रामो माओवादी केन्द्रले ११ वटा सिट जितेको छ भने एमालेले ८ स्थानमा जित हासिल गरेको आयोगले जनाएको छ । यसैगरी, जसपा नेपालले २, नेकपा एकीकृत समाजवादी, नेमकिपा, रास्वपा र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जितेका छन् । यस निर्वाचन मार्फत रास्वपाले स्थानीय सरकारमा पहिलोपल्ट प्रवेश पाएको छ । माओवादी केन्द्रले केही आफ्ना पुराना सिट गुमाए पनि नयाँ ठाउँमा जितेको छ । कांग्रेसले केही नयाँ ठाउँमा जित हात पारे पनि साविकका केहि सिट गुमाएको छ । एमालेले केही वडाध्यक्षका पद गुमाएर प्रमुख र उपप्रमुखको पद जोडेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै हिजो राति मतपरिणाम सार्वजनिक गरिएको थियो । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल ५ हजार ३ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत प्राप्त गर्नुभएको थियो । यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेका सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । यसैगरी, दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी हुनुभएको भने उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले रहनुभएको थियो । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सविता बुढालाई हराउदै तिमिल्सिनाले ४३ मत अन्तरले विजयी हुनुभएको हो । आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५ मत पाउनु भएको थियो । उपनिर्वाचनमा राजनीतिक दलका दुई सय ७४ जना र स्वतन्त्र एक सय दुई जना गरी जम्मा तीन सय ७६ उम्मेदवार चुनाबी मैदानमा उत्रिएका थिए ।।