नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को साउन महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ दशमलव १० प्रतिशत रहेको उल्लेख गरेको छ । यस्तै आयात ० दशमलव ६ प्रतिशतले र निर्यात ९ दशमलव ६ प्रतिशतले घटेको उल्लेख गरेको छ । राष्ट्र बैंकको समे प्रतिबेदनमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८ दशमलव ० प्रतिशतले बढेको देखाइएको छ । यसैगरी शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको समेत सो प्रतिबेदनमा उल्लेख गरिएको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति २ हजार ९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ भने नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको उल्लेख छ । यस्तै विस्तृत मुद्राप्रदाय ० दशमलव ७ प्रतिशतले घट्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ८ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ० दशमलव ७ प्रतिशतले घटेको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ० दशमलव ३ प्रतिशतले बढेको सो प्रतिबेदनमा उल्लेख गरिएको छ । यसैगरी, चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिना साउनमा मात्रा १ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । साउनमा भित्रिएको यो रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतभन्दा बढी भएको जनाएको छ । अमेरिकी डलरमा विप्रेषण १ अर्ब २ करोड भित्रिएको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख डलर बराबर रेमिट्यान्स आएको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या संस्थागत र व्यक्तिगत नयाँमा ३६ हजार ९ सय २८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६ सय ४७ जना रहेको समेत बैंकले जनाएको छ ।।