काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘२६ औं फ्लोरा एक्स्पो २०८१’ आयोजना हुने

Everest Fuji News २०८१ फाल्गुन ३० मा प्रकाशित       Published at 2025 Mar 14


काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘२६ औं फ्लोरा एक्स्पो - २०८१’ को आयोजना गर्ने भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आज चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा उक्त एक्स्पो आयोजना हुनेछ।

फ्लोरा एक्स्पोमा व्यवसायिक स्टल तथा अफिसियलहरू सहित जम्मा ८२ वटा स्टल रहने आयोजकले जनाएको छ। यस वर्ष पनि फ्लोरा एक्स्पोमा नर्सरी व्यवसायीहरूले उत्पादित गुणस्तरिय फूल तथा आलंकारिक बोटबिरुवाहरूको प्रतिस्पर्धा गराइनेछ। उत्कृष्ट स्टल, ल्याण्डस्केपिङ्ग, मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने बिरुवा, पुष्प सजावट तथा कट फ्लावर (गुलाब, जरबेरा, कार्नेशन, आदि) विधामा पुरस्कृत गरिनेछ। विजेताहरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल) ले जानकारी दिए।

उक्त एक्स्पोमा सहभागी हुने नर्सरी वा फर्मले तीन वटा विधामा मात्र प्रतिस्पर्धा गर्न पाउने छन्। साथै, पुष्प उत्पादक, थोक तथा खुद्रा व्यापारी, आयात तथा निर्यातकर्ता, सामग्री आपूर्तिकर्ता कम्पनी फर्महरू तथा उपभोक्ताहरूको सक्रिय सहभागिता रहनेछ। ‘२६ औं फ्लोरा एक्स्पो’ ले पुष्प व्यवसायलाई थप व्यवसायिक रूपमा सशक्त बनाउन र वातावरणीय सचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

फ्यानका अनुसार यस वर्ष करिब ६० हजार अवलोकनकर्ताहरूद्वारा अवलोकन हुने तथा १ करोड बढीको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ। एक्स्पोलाई भव्य रूपमा संचालन गर्न विभिन्न संघ / संस्थाहरूको सहयोग तथा सहकार्य रहेको फ्यानले जनाएको छ।

यस वर्षको एक्स्पो साईमेक्स प्रा.लि. (वी वाई डिको आधिकारिक बिक्रेता), नेपाल डेरी प्रा.लि., प्रारम्भ बायोटेक, पान अमेरिकन सीडको स्पोन्सरमा सम्पन्न हुनेछ। साथै, वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यद्वारा अभिनित चलचित्र ‘भुठान’ समूहको समेत पुष्प मेला प्रचारप्रसारमा सहयोग रहनेछ। मेला स्थलको भव्य डेकोरेसनमा विभिन्न नर्सरी तथा कट फ्लावर व्यवसायीहरूको समेत सहयोग रहनेछ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.