अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोग रोकेको अर्थमन्त्रालयलले जनाएको छ ।
अर्थ मन्त्रालयका अनुसार ९० दिनका लागि एमसीसी रोकिएको जानकारी समेत गराउदै सूचना समेत सार्वजनिक गरेको छ । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले इमेल मार्फत नेपाल सरकार र उक्त निकायबिच बिक्रम सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यान्वयन भईरहेका आयोजनाहरूसँग सम्बन्धित एमसीसी फण्डबाट भुक्तानी हुने क्रियाकलापहरू अमेरिकी राष्ट्रपतिको जनवरी २०, २०२५ मा जारी ९० दिनको स्थगनसम्बन्धी कार्यकारी आदेशानुसार रोकिएको ब्यहोरा सरोकारवालाहरूलाई जानकारी गराएको जनाएको छ । केही दिनअघि युएसएड अन्तर्गतका सबै सहयोग रोकेको अमेरिकाले अहिले मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको सहयोग समेत रोकेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । एमसीसीले सहयोग रोक्ने सम्बन्धी पत्र गत फागुन २ गते नै पठाएको भएपनि त्यसको जानकारी हिजोमात्र सार्वजनिक गरिएको उहाँले बताउनु भएको छ । एमसीसीसँग सरकारको सम्झौता अनुसार कुनै एक पक्षले चाहेमा ९० दिनको समय दिएर सम्झौता रद्द गर्नसक्ने व्यवस्था छ । तर, अमेरिकाले स्थगनको पत्र पठाएर सहयोग तत्कालै लागू हुनेगरी सम्झौता स्थगन गरेको अर्थमन्त्रालयलले जनाएको छ ।।