स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल आँखा कार्यक्रम तिलगंगासँग सहयोग आदान–प्रदान सम्बन्धी सम्झौता गरिएकोे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र तिलगंगाका कार्यकारी निर्देशक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतको उपस्थितिमा हिजो सो सम्झौता भएको हो । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउने उद्देश्यले सम्झौता गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । सम्झौता अनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउने समेत जनाइएको छ । तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने समेत सम्झौता भएको बताइएको छ ।
सरकारको भन्सार तथा मूल्य अभिवृद्धि कर छुटमा तिलगंगाबाट उत्पादित लेन्स विभिन्न देशमा निर्यात समेत भइरहेको छ । अहिलेको सम्झौता अनुसार तिलगंगाले ती लेन्स नेपाली नागरिकका लागि प्रयोग हुँदा हालको रकममा छुट प्रदान गर्ने समेत सहमती भएको मन्त्रालयले जनाएको छ ।।