Everest Fuji News२०७३ चैत्र ७ मा प्रकाशितPublished at 2017 Mar 20
साउदी अरवले गैरकानुनी हैसियत कामदारलाई बिना सजाय स्वदेश फिर्न पाउने गरी ९० दिनको आममाफीको घोषणा आइतबार गरेको छ । यो मार्च २९ गतेबाट लागु हुनेछ ।
साउदीका राजकुमारसमेत रहेका उपप्रधान तथा गृहमन्त्री मोहमद विन नैफले ‘उल्लंघन बिनाको देश’ अभियान सुरु गर्दै आममाफी दिएको हो । सरकारले तीन वर्ष अगाडि पनि आममाफी दिएको थियो । त्यतिखेर ३५ हजार नेपाली स्वदेश फिर्न पाएका थिए ।
साउदी अरवका कम्पनी छाडेर गैरकानुनी हिसाबले अर्को कम्पनीमा काम गरिरहेका, कम्पनीले भिसा नलगाई राखेका, कम्पनी बन्द भई स्वदेश फिर्न नपाएका जस्ता कामदारहरु आममाफीको कार्यक्रममा फाइदा लिन सक्ने नेपाली दूतावासले जनाएको छ ।
राजकुमार नैफले घर फिर्न चाहनेलाई सहजीकरण गर्न तोकिएको निकायलाई ब्यवस्था मिलाउन निर्देशन दिइसकेको बताएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएको छ । आन्तरिक मन्त्रलायका प्रवक्ता मान्सअवर अल–तुरकीले यो अभियानमा सहभागी कामदारलाई सहजीकरण गर्नको लागि १९ वटा निकायहरु तोकिएको बताए । ‘हज र उमराहको लागि आउदा बसेका देखि कुनै प्रकारका भिसाका आप्रबासीलाई पनि सहयोग गर्नेछौं,’ उनले भने ।