Everest Fuji News२०७३ चैत्र २ मा प्रकाशितPublished at 2017 Mar 15
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००५ मा तिरेको करको दस्तावेज सार्वजनिक भएको छ । सार्वजनिक दस्तावेजअनुसार ट्रम्पले सो वर्ष १५ करोड डलरभन्दा बढिको आयमा करिब चार करोड डलर कर तिरेका छन् ।
कर तिरेको दुई पन्ने दस्तावेज अमेरिकी टीभि नेटवर्क एमएसएनबीसीले सार्वजनिक गरेको हो । यसमा ह्वाइट हाउस खुशी छैन । ह्वाइट हाउस स्रोतले ट्याक्स रिटर्नलाई सार्वजनिकरुपमा प्रकाशित गर्नु गैरकानूनी हुने बतायो ।
निर्वाचन अभियानका दौरान ट्रम्पले आफूले तिरेको करको विवरण सार्वजनिक गर्न इन्का गरेका थिए । जबकि अघिल्ला उम्मेदवारहरुले यसो गर्ने प्रचलन थियो ।
सार्वजनिक भएको दस्तावेजमा ट्रम्पले तिरेको करको पूर्ण विवरण भने छैन । यसमा उनको आम्दानीको व्यहोरा पनि छैन । यद्यपि संवादाताहरुले यो लीक महत्वपूर्ण भएको बताएका छन् किनकी राष्ट्रपति ट्रम्पले तिर्ने करका विषयमा अमेरिकीहरुलाई साह्रै कम जानकारी छ । यसबाट थप विवरण सार्वजनिक गर्नका लागि ह्वाइट हाउसलाई दवाव पुग्ने पनि संवाददाताहरुको विश्वास छ ।
सार्वजनिक भएको दस्तावेजबाट यो थाहा हुन्छ कि ट्रम्पले संघीय आयकरका रुपमा ५३ लाख डलर भुक्तानी गरे र ३१ लाख डलर एमटी अर्थात बैकल्पिक न्यूनतम करका रुपमा चुक्ता गरे । एमटीको सुरुवात करिब ५० वर्षअघि भएको थियो । धनीमानिहरुलाई कर नतिर्ने उपाय खोजी गर्नबाट रोक्न यो कर प्रणाली लागू गरिएको हो ।