लन्डन, भदौ २३ गते । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार स्वर्गारोहण भएको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ ।
बकिंघम प्यालेसले रानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक मृत्यु भएको जनाएको छ ।
यसअघि उहाँ स्कटल्याण्डको बालमोरल अस्पतालमा चिकित्सकको निगरानीमा रहनु भएको थियो । चिकित्सकहरूले उहाँको स्वास्थ्यको बारेमा थप चासो व्यक्त गरेपछि उहाँलाई अस्पतालमा राखिएको बकिङ्घम प्यालेसले बिहीबार नै जनाएको थियो । महारानीको स्वर्गवास भएको खबर पाउन साथ बेलायतमा शोक छाएको छ । बकिंघम राजदरबारमा अहिले ठूलो भीड जम्मा भएको छ ।
उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिलेपछि जेठी छोरी एलिजाबेथ उत्तराधिकारी बनेकी थिइन् । पिताको निधनपछि सन् १९५२ फेब्रुअरी ६ मा २५ वर्षको उमेरमा उनले राजगद्दी आरोहण गरेकी थिइन् । दोस्रो विश्वयुद्धपछि बेलायत आर्थिक तथा राजनीतिक रूपमा तंग्रिने प्रयास गरिरहेका बेला एलिजाबेथले गद्दी आरोहण गरेकी थिइन् । करिब १२० देशको भ्रमण गरेकी एलिजाबेथले संसारकै सबैभन्दा धेरै यात्रा गर्ने राष्ट्राध्यक्षको कीर्तिमान राखेकी थिइन् । १६ लाख किलोमिटरभन्दा बढी यात्रा गरेकी उनी हजारौं समारोहमा सहभागी भएकी थिइन् । उनी संसारमै सबैभन्दा धेरै फोटो खिचाउने व्यक्तिमध्येमा पर्छिन् ।
महारानीले स्वास्थ्यका कारण आफ्ना कतिपय राजकीय जिम्मेवारी यसअघि नै जेठो छोरा तथा उत्तराधिकारी युवराज चार्ल्सलाई हस्तान्तरण गरेकी छन् । उनले युवराज चार्ल्स राजा बनेपछि पत्नी क्यामिला रानी बन्ने यसअघि नै प्रस्ट पारेकी थिइन् ।
सन् १९९६ मा चार्ल्स र डायनाबीच विवाहको १५ वर्षमै सम्बन्धविच्छेद भएपछि शाही परिवारप्रति आलोचना बढ्यो । त्यसको अर्को वर्ष फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा डायनाको निधन भएपछि मानिसहरू राजसंस्थाप्रति नकारात्मक बन्दै गए । डायनासँग चार्ल्सको बिग्रेको वैवाहिक सम्बन्ध सुधार्न र डायनाको दुर्घटनापछि गुम्दै गएको राजसंस्थाप्रति जनताको सम्मान कायम राख्नका लागि एलिजाबेथले थुप्रै चुनौती सामना गरिन् ।
राजकुमारहरु विलियम र ह्यारीकी आमा डायनाको सन् १९९७ अगस्टमा फ्रान्सको राजधानी पेरिसमा भएको कार दुर्घटनामा मृत्यु भएको थियो । पछि सन् २००५ मा चार्ल्सले क्यामिला पार्कर बाउल्ससँग विवाह गरेका हुन् ।
तीन वर्षअघि राजकुमार ह्यारी र मेगनले दरबार छाड्ने निधो गर्दा महारानीले दुःख व्यक्त गरेकी थिइन् । पछि सन् २०२१ को जुनमा पति गुमाएपछि भने उनलाई ‘एक्लोपन’ ले अत्याएको थियो । त्यसको ६ महिनापछि यौन दुर्व्यवहारको आरोपमा छोरा एन्ड्रयुको शाही पदवी खोसिएको थियो ।
महारानी एलिजाबेथले गद्दी आरोहण गरेको ७० वर्षको अवसरमा गत जुनमा भव्य समारोह आयोजना गरिएको थियो । चार दिन सार्वजनिक बिदा दिएर गरिएको ‘प्लेटिनम जुब्ली’ समारोहमा दसौं लाख बेलायतीले भाग लिएका थिए । त्यस अवसरमा महारानीले राजकुमार चार्ल्स, ड्युक अफ केन्टलगायत शाही परिवारका सदस्यमाझ राजदरबारको बाल्कोनीबाट सैनिक र हजारौं सर्वसाधारणलाई हात हल्लाएर हौसला प्रदान गरेकी थिइन् ।
बि सं २०१७ मा नेपाल भ्रमणमा आएकी थिईन
राजा महेन्द्रको पालामा पंचायती शासन लागू हुने बितिक्कै २०१७ सालमा राजकीय भ्रमणमा आएकी थिईन | उनले नेपाल प्रति गहिरो चासो लिने गर्थिन |
परराष्ट्र मन्त्रालयका अनुसार एलिजाबेथ द्वितीय र राजकुमार प्रिन्सले सन् १९६१ र १९८६ मा नेपालको दुई पटक भ्रमण गरेका हुन् |
खासगरी गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष सम्बन्ध थियो ।